चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु



काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ ।

विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यो ओलम्पिकलाई अमेरिका लगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् । चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन् ।

कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट सुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।