आठ लाख डलर चोरी गर्ने बृद्ध भिक्षुणीलाई जेल सजाय

आठ लाख डलर चोरी गर्ने बृद्ध भिक्षुणीलाई जेल सजाय



न्युयोर्क । अमेरिकामा जुवा खेलमा सहयोग गर्ने र खर्चालु ढंगले बिदा मनाउन ८ लाख डलर रकम चोरी गर्ने एक बृद्ध भिक्षुणीलाई जेल सजाय तोकिएको छ । क्यालिफोर्नियाकी ८० वर्षीया म्यारी मार्गरेट क्रिउपरलाई एउटा अदालतले सो सजाय सुनाएको हो । क्रिउपरले ६ दशकअघि गरिबको जीवनप्रति समर्पण गर्ने कसम खाएकी थिइन् ।

तर, लस ऐन्जल्सस्थित रोमन क्याथोलिक प्राथमिक विद्यालयको प्राध्यापकको रुपमा उनले ८ लाख ३५ हजार डलर लस भेगासमा जुवा खेल्न जुटाएको अदालतले फैसला गरेको छ । सो रकमबाटै उनले लेक टाहोइलगायतका महंगा रिसोर्टमा विलासीपूर्ण यात्रामा खर्च गरेको जनाइएको छ । सो रिसोर्ट गर्मीमा डुंगा चलाउन र जाडो मौसममा स्कीङका लागि प्रख्यात छ । त्यहाँ प्रायः सबै मौसममा धनाढ्य पर्यटकहरुको जमघट हुने गर्छ ।

‘मैले अपराध गरे । मैले कानुन मिचे । मसँग कुनै बहाना छैन,’ क्रिउपरले अदालतमा भनिन् । आफ्ना अपराध ‘आफ्नै सपथ, आज्ञा, कानुन र धेरै मानिसहरुले गर्ने पवित्र विश्वासको उल्लंघन’ भएको उनले स्वीकारेकी छिन् । गत वर्षको सुनुवाईको क्रममा क्रिउपरले कालो धनलाई बैध बनाएको र ठगी गरेको स्वीकार गरेकी थिइन् ।

टिउसन र धर्मदानका लागि विद्यालयमा पठाइएको रकम क्रिउपरले नियन्त्रणमा राखेको गोप्य अकाउन्टमा कसरी पुग्यो भन्दै अदालतमा उनीविरुद्ध उजुरी परेको थियो । एउटा अडिटले उनका गोप्य योजना सार्वजनिक गरिदिने धम्की दिएपछि क्रिउपरले आपत्तिजनक कागजात नस्ट गर्न कर्मचारीहरुलाई अनुरोध गरेको अदालतको फैसलामा उल्लेख छ ।

दी टाइम्सका अनुसार उनको आर्थिक अनियमितताबारे सुरुमा लस एन्जलसका धर्माध्यक्षसँग विवाद भएपछि भिक्षुलाईभन्दा पादरीलाई धेरै पैसा दिइने गरेको भन्दै रकम उठाउन आफू योग्य भएको तर्क गरेकी थिइन् ।