एनआरएनए विवाद झन् जटिलमोडमा

एनआरएनए विवाद झन् जटिलमोडमा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विवाद झ्न जटिल मोडमा धकेलिदै गएको छ । संघको पछिल्लो निर्णयले संस्था नै दुईवटा बन्न सक्ने खतरा उत्पन्न भएको छ ।

संघको हिजो बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेसँगै विवादले जटिलता झन् बलियो बनाएको हो ।

केन्द्रीय समितिले ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडालगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको छ ।

प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनुपर्ने गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

संघको विधान २००३ (संशोधनसहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न नमिल्ने बताइएको छ । नयाँ आइसीसी गठन भएपछि मात्रै संरक्षक परिषद पनि नयाँ गठन हुने व्यवस्था छ। तर एकलौटी रुपमा संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने निर्णय भएपछि विवाद थप चर्किएको हो । अध्यक्षका उम्मेदवार कुल आचार्यलगायतका असन्तुष्ट समूहले यसको विरोध गरेका छन् ।

संघभित्र कुमार पन्त नेतृत्वको संस्थापन र आचार्य पक्षबीच विवाद रहँदै आएको छ । सो विवादका बीच चुनावी प्रक्रियामा सरकारी हस्तक्षेप समेत हुँदा संघको महाधिवेशन सर्दै आएको छ।