युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारद्वारा भारतसँग सहकार्यको प्रस्ताव

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारद्वारा भारतसँग सहकार्यको प्रस्ताव



काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काउन भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्याण्डलगायतका मुलुक पुगेका नेपालीलाई स्वदेश फर्काइदिन गरेको अनुरोधमा भारतबाट सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन विमान पठाएको छ । तीनै विमानमा स्वदेश फर्किन इच्छुक नेपालीलाई पनि ल्याउने प्रबन्ध मिलाउने प्रयास भइरहेको हो । मन्त्रालयले स्वदेश फर्किन इच्छुक नेपालीलाई बर्लिनस्थित नेपाली दूतावासको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन अनुरोध गरेको छ ।

बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपाली पोल्याण्ड पुगेका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनमा रहेका नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको समेत मन्त्रालयले जनाएको छ ।

रोमानिया पुगेका नेपालीलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने रोमानिया सरकारले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ । बर्लिनस्थित दूतावासले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ ।