एनआरएनएको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह ( विज्ञप्ति सहित)  

एनआरएनएको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह ( विज्ञप्ति सहित)  



काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुले संघको संरक्षक परिषद र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन्।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर संकटमा परेको भन्दै बोलाएको बैठकमा गत वर्ष चुनाव भएका ६५ ओटा एनसीसीहरु मध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भएका थिए।  

संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले एनसीसीहरु लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडी बढ्न आह्वान गरे। उनले एनसीसीहरुलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरे। उनले एनसीसीहरु स्वायत्त र सार्वभौम छन् भन्दै एनसीसीहरुलाई उनीहरुले गरिराखेको राम्रो काम जारी राख्न आग्रह गरे। संस्थालाइ एकजुट गर्न आफुहरुले छिट्टै कदम चाल्ने उनले बताए। 

पूर्व अध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले यो बैठक बोलाएको बताए । “यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरुको हितको लागि बनाएको संस्था हो।  हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस्। कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ।  यो जग तपाईंहरुले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,” उनले भने।

संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाई हो भन्दै  उच्चस्तरीय समिति र संरक्षक परिषद् चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको जनाए।  “अहिलेको नेतृत्वले गलत काम गर्दै जाने हो भने हामी पनि चुप लागेर बस्न सक्दैनौं । हामीले पनि केही कदम चाल्नै पर्छ ,” आचार्यले भने। 

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)  बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्ने भन्ने निर्णय विधान विपरित भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको बताए। उनले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गरे । “त्यो पत्र फिर्ता लिनुपर्छ । संरक्षक परिषद् भंग गर्ने निर्णय फिर्ता लिनुपर्छ,” उनले भने  ।

बैठकले पारित गरेको चार बुंदे प्रस्तावमा संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरिएको छ।  ” संघलाई विभाजनको संघारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौँ महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै  पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा. शेष घले, संरक्षकज्यूहरु तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ,” प्रस्तावमा भनिएको छ। 

मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले एनसीसी अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा तथा जापान लाई सदस्यता शुल्क बुझाउन दबाब दिंदै अध्यक्ष कुमार पन्तको नाममा हजारौ पंजीकृत सदस्यहरुलाई सोझै इमेल पठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एनसीसीहरुलाई  दबाब र धम्की दिने कामहरु तत्काल बन्द गर्न बैठकले माग गरेको छ।

उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावली उपर दावी विरोध गर्नु भएको र उच्चस्तरीय समितिले गरेको छानबिनले संघको दशौँ महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिहरुको संख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन बैठकले आह्वान गरेको छ।

बैठकले  निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निस्पक्षता माथि गम्भीर आशंका उत्पन्न भएको भन्दै स्वतन्त्र, निस्पक्ष र धांधलीरहित निर्वाचन सुनिस्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ।

एनआरएनए एनसीसीका अध्यक्षहरुको बैठक पछि जारी प्रेस वक्तव्य

मिति ६ मार्च २०२२, आइतबार, का दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बस्यो। संघमा अहिले देखिएको गम्भीर संकटबारे परामर्श गरी आगामी कार्यदिशाबारे छलफल गर्न संघका पूर्व अध्यक्षहरु श्री शेष घले तथा श्री देवमान हिराचनले उक्त बैठक बोलाउनु भएको थियो। बैठकमा ४५ भन्दा बढी मुलुकका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो।

एनसीसी अध्यक्षहरुलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष डा. शेष घलेले एनसीसीहरु लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडी बढ्न आह्वान गर्नु भयो। उहाँले एनसीसीहरुलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गर्नु भयो। उहाँले एनसीसीहरु स्वायत्त र सार्वभौम छन् भन्दै एनसीसीहरुलाई उनीहरुले गरिराखेको राम्रो काम जारी राख्न आग्रह गर्नु भयो।

पूर्व अध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले यो बैठक बोलाएको बताउनु भयो । “यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरुको हितको लागि बनाएको संस्था हो। हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस्। कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ। यो जग तपाईंहरुले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,” उहाँले भन्नुभयो।

बैठकलाई आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, केन्द्रीय उपाध्यक्षहरु सोनाम लामा, मन केसी, अन्य पदाधिकारीहरु, एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो। कार्यक्रममा सहभागी एनसीसी अध्यक्षहरुले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का पछिल्ला निर्णयहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विधान विपरितका निर्णयहरु गर्ने, एकपक्षीय निर्वाचन कार्यक्रम अगाडी बढाउने, एनसीसीहरुलाई दबाब दिने जस्ता कामको कडा विरोध गरे। बैठकले व्यापक छलफल पछि निम्न लिखित प्रस्तावहरु सर्वसम्मतिले पारित ग-यो।

१. संस्थाको विधान अनुसार आइसीसीको बैठक बोलाउन कम्तीमा ७ दिनको सूचना दिनु पर्नेमा मार्च २, २०२२ मा बैठक बोलाउदा जम्मा २ दिनको सूचना दिइएको, बैठकमा पेश गर्ने एजेन्डाहरु अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) तथा पदाधिकारी बैठकले अनुमोदन गर्नु पर्नेमा त्यसो नगरिएको र आइसीसीका १४० बढी सदस्यहरु मध्ये ५० जना भन्दा कम मात्रै उक्त बैठकमा सहभागी भएको जानकारी प्राप्त भएको छ। आइसीसीको ८१ औं पूर्ण बैठकले टर्म्स अफ रेफरेंस सहित उच्चस्तरीय समिति गठन गरेको तर समितिले तयार गरेको रिपोर्ट माथि छलफल नै नगरी समिति भंग गरिएको भन्नु एनआरएनएको परम्परा र मर्यादासंग सुहाउने व्यवहार हैन। संस्थाको संरक्षण गर्न परिकल्पना गरिएको संरक्षक परिषद एक स्थायी संरचना हो। यसलाई भंग गर्ने कुनै प्रावधान विधानमा छैन। मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गरिएको भन्ने निर्णयहरुको कुनै कानूनी हैसियत नहुने (null and void हुने) स्वत: स्पष्ट छ। त्यसैले संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न यो बैठक आह्वान गर्दछ। संघलाई विभाजनको संघारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौँ महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा. शेष घले, संरक्षकज्यूहरु तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ।

२. मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले एनसीसी अमेरिका, युके, अस्ट्रेलिया, क्यानडा तथा जापानलाई सदस्यता शुल्क बुझाउन दबाब दिंदै अध्यक्ष कुमार पन्तको नाममा हजारौ पंजीकृत सदस्यहरुलाई सोझै इमेल पठाउने कार्यप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । संघको विधानले एनसीसीहरुलाई आफ्नो कार्यक्षेत्रमा स्वायत्तता प्रदान गरेको छ । एनआरएनएका सबै एनसीसीहरुले आ-आफ्नो देशमा त्यहांको स्थानीय कानुन अनुसार छुट्टै विधान, नियमहरु बनाएर स्थानीय कानुन अनुसार दर्ता भै कार्य गरिरहेका छन् । त्यसैले यस्ता दबाब र धम्की दिने कामहरु तत्काल बन्द गर्न यो बैठक आईसीसीलाई आग्रह गर्दछ।

३. उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावली उपर दावी विरोध गर्नु भएको र उच्चस्तरीय समितिले गरेको छानबिनले संघको दशौँ महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिहरुको संख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन आह्वान गर्दछौं।

४. निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निस्पक्षता माथि गम्भीर आशंका उत्पन्न भएको छ। त्यसैले स्वतन्त्र, निस्पक्ष र धांधलीरहित निर्वाचन सुनिस्चित गर्न हामी आइसीसी र निर्वाचन समितिलाई आग्रह गर्दछौं।