देउवाको नजरः सबै कांग्रेस बराबर

देउवाको नजरः सबै कांग्रेस बराबर



विजयराज अधिकारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट दोस्रो पटकका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा पार्टीको मात्र होइन सिंगो देशकै मियो भूमिकामा रहेका छन् । गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीका रुपमा सरकार हाँकिरहेका देउवा आफ्नै मेहनत र परिश्रमले राजनीतिको शिखरमा पुगेका नेता हुन् ।

राजनीतिक उचाईका हिसाबले अब देउवाले प्राप्त गर्नुपर्ने पद र प्रतिष्ठा कुनै बाँकी छैन । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको दुईपटक अध्यक्ष र पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर देउवाले प्राप्त गरिसकेका छन् । अब मुलुक, जनता र लोकतन्त्रको पक्षमा महत्वपूर्ण काम गरेर इतिहास रच्ने बाहेक अन्य कुनै स्वार्थ देउवासंग छैन ।

समग्रमा कांग्रेसभित्रको गुट–उपगुटलाई तहसनहस बनाएर देउवाले सबैको साझा नेताका रुपमा आफ्नो दोस्रो कार्यकाल प्रारम्भ गरे ।

दोस्रो पटक सभापतिको प्रतिस्पर्धामा टिम सहित चुनाबी मैदानमा उत्रेका देउवा अत्याधिक मतका साथ कांग्रेस सभापतिमा निर्बाचित भएको इतिहास साक्षी छ । संयोग कस्तो जुर्‍यो भने कांग्रेसका नेतात्रय वीपी पुत्र शशांक, गणेशमान पुत्र प्रकाश र महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधि सबैको मत र साथ देउवाले प्राप्त गरे । त्यति मात्र होइन गिरिजाप्रसाद कोइराला पुत्री सुजाताको समेत साथ र समर्थनमा देउवा सभापतिमा निर्बाचित बने । अझै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसभामुख तारानाथ रानाभाटको समेत विश्वास देउवाले जिते । समग्रमा कांग्रेसभित्रको गुट–उपगुटलाई तहसनहस बनाएर देउवाले सबैको साझा नेताका रुपमा आफ्नो दोस्रो कार्यकाल प्रारम्भ गरे ।

तर अझै पनि आम संचार माध्यममा कांग्रेसको देउवा पक्ष र कोइराला पक्ष भनेर लेखिरहेको देखिन्छ । वास्तममै अब कांग्रेसमा कोहि पनि संस्थापन र इतर पक्ष भन्ने छैन । अर्थात् महाधिवेशन परिणामसंगै देउवा र कोइराला पक्षको ट्याग मेटिइसकेको हो । शशांक र सुजाता कोइरालाको समर्थन प्राप्त सभापति देउवा कसरी कोइराला इतरका भए ? अनि देउवासंग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालाको लिगेसी मात्र हेरेर कांग्रेसमा कोइराला समुह भनेर लेख्न र व्याख्या गर्न पनि मिल्दैन ।

सभापति निर्बाचित भएलगत्तै आज पर्यन्त देउवाले कसैलाई काखा र कसैलाई पाखा गरेको देखिंदैन । चुनावी प्रतिस्पर्धामा आफुलाई सहयोग नगर्ने कोही नेता कार्यकर्ताप्रति देउवाको मनमा कहिं कतै पनि सामान्य द्धेष र बदलाको भावना छैन । केन्द्रीय सदस्य मनोनयनदेखि कार्यसम्पादन समिति गठनसम्म देउवाले सबैलाई समेट्न गरेको भरमजदुर प्रयास यसैको ज्वलन्त उदाहरण हो । राष्ट्रिय महत्वका बिषयमा पार्टीले लिने हरेक निर्णयमा महामन्त्री गगन थापादेखि पूर्व उप–सभापति विमलेन्द्र नीधिसम्मको सल्लाह, साथ र सहयोगको खोजि गरेर देउवाले पार्टीभित्र तेरो र मेरो भन्ने कोही छैन भन्ने सन्देश प्रवाह गरेका छन् ।

पछिल्लोपटक विराटनगर पुगेर कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टीमा कुनै तित्तता नरहेको, कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएको, पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्ने तथा पारदर्शी, उत्तरदायी र जवाफदेही कांग्रेसको चरित्र भएको भन्ने नेता शेखर कोइरालाको अभिव्यक्तिबाट समेत यो कुरा प्रष्ट झल्किन्छ । वास्तवमै देउवाको नजरमा सबै कांग्रेस कार्यकर्ता बराबर छन् । अब पार्टीका तर्फवाट प्राप्त हुने अवसरहरुमा कसैले पनि भेदभाव गरेको महशुस गर्न नपरोस भन्ने मान्यतामा देउवा दृढ रहेको देखिन्छ ।

आसन्न स्थानीय निर्बाचनका सन्दर्भमा कांग्रेसलाई बलियो पार्टीका रुपमा देशैभर स्थापीत गर्ने तथा पहिलो पार्टीका रुपमा शाख फर्काउने बाहेक अन्य कुनै स्वार्थ देउवामा देखिंदैन । जनमानसमा भिजेको, लोकप्रिय र नेपाली कांग्रेसका आम मतदाताले रुचाएको व्यक्ति नै देउवाका लागि सबैभन्दा प्रिय बन्नेछ । कांग्रेसमा जो लोकप्रिय छ, उ नै सभापति देउवाको असली मान्छे हो । स्थानीय तहको टिकट वितरणमा देउवाले जनप्रिय र पार्टीप्रति प्रतिबद्ध नेताको खोजि गरिरहेको देखिन्छ ।

विगतको पृष्ठभूमि या पार्टीको आन्तरिक प्रतिस्पर्धामा आफुलाई कसले सहयोग गर्‍यो या गरेन भन्ने आधारमा सभापति देउवाले अब कसैको मूल्यांकन गर्ने छैनन् । यही नै कुरा प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि लागु हुने छ । राष्ट्रिय सभाको पछिल्लो निर्बाचनमा पनि देउवाले तेरो र मेरो नभनी उपयुक्त नेताहरुलाई अवसर दिएबाट यो प्रस्ट हुन्छ ।

यसर्थ अब कोही पनि नेपाली कांग्रेसका नेता कार्यकर्ताले म सभापतिको निकट र अरुचाहिं विकट भन्ने हिनताको भावना पाल्नु जरुरी छैन । सक्षम, इमान्दार र जनप्रिय नेता सबै सभापतिका निकट रहनेछन् । अझै पनि गुटको राजनीतिमा रमाउन चाहने, सभापतिको रातदिन आलोचना र बदख्याईंमा समय खर्च गर्ने, पार्टीभन्दा व्यक्तिगत हित र स्वार्थमा मैमत्त कोही पनि अब कांग्रेसको इमान्दार नेता कार्यकर्ता हुनै सक्दैनन् ।

स्थानीय स्तरमा गुटबन्दिलाई बढावा दिने, पार्टीको कार्यक्रममा समन्वय नगर्ने, पार्टीको व्यानर र झण्डा दुरुपयोग गरेर कांग्रेसलाइ कमजोर बनाउने चलखेल अब कोही कसैबाट हुनुहुदैन । स्वच्छ आलोचना र कमजोरी औल्याउने नेता तथा कार्यकर्ता एवं शुभचिन्तकप्रति देउवाको सधैं आदरभाव रहिरहने छ । अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको लोकतान्त्रिक अधिकार प्रति देउवाले कहिल्यै पनि दुर्भाव प्रकट गरेको देखिंदैन । तथ्य र प्रमाणबिनै देउवाको अति आलोचनामा उत्रेका आमसंचार माध्यम, पत्रकार र बिश्लेषकप्रति पनि देउवा कहिल्यै गरम देखिएनन् । पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रखवारी देउवाका लागि सधैं महत्वपूर्ण रहिआएको देखिन्छ ।

वास्तवमा सभापति देउवाको नजरमा सबै कांग्रेस बराबर हुन् । कसैलाई काखा र कसैलाई पाखा गर्नुपर्ने कारण देउवासंग अब बाँकी छैन । यसर्थ प्रधानमन्त्रीका रुपमा देउवाले मुलुकको समृद्धि, आम जनताको जिवनस्तर बृद्धि, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्र्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको शिर उच्च राख्न सदैव अग्रसर हुने विश्वास गर्दै सहयोगका हात दिनुपर्ने बेला छ ।

मतदान गर्न

बाँकी