एनआरएनएकाे निर्वाचन गराउन शेष घलेले गरे समिति पुनर्गठन, समितिमा को-को ?

एनआरएनएकाे निर्वाचन गराउन शेष घलेले गरे समिति पुनर्गठन, समितिमा को-को ?



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् ।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

घलेले निर्वाचन समिति समेत बनाएका छन् । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौं महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उच्चस्तरीय समितिले झन्डै २ हजार ६०० मतदाताहरु रहेको सूची तयार गरेको छ । सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ ।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ।