एनआरएनए विभाजित हुने अवस्थामा पुगेपछि शेष घले सक्रिय

एनआरएनए विभाजित हुने अवस्थामा पुगेपछि शेष घले सक्रिय



सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधि विवादका कारण विभाजित हुने अवस्थामा पुगेपछि संस्थाको संरक्षणका लागि संघका प्रमुख संरक्षक शेष घले सक्रिय भएका छन् । संघको कामचलाउ समितिले एकपक्षीय रूपमा निर्वाचन गराउन खोजेपछि घलेले प्रमुख संरक्षकको अधिकार प्रयोग गर्दै संघको दसौं महाधिवेशन तथा निर्वाचनको घोषणा गरेका हुन् ।

केही दिनअघि सम्पन्न संघका राष्ट्रिय समन्वय समितिहरूको बैठकले घलेलाई संघको विधानअनुसार अधिवेशन सम्पन्न गर्न अनुरोध गरेको थियो । सोहीअनुसार घलेले दसौं महाधिवेशन तयारीका लागि संघकै उपाध्यक्ष सोनाम लामा संयोजक र अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको महाधिवेशन तयारी समिति गठन गरेका छन् । उनले निर्वाचन समिति पनि पुनर्गठन गरेका छन् ।

संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६।१।४ अनुसार प्रमुख संरक्षक घलेले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै अधिवेशन तयारी समिति गठन गरेका हुन् । जसअनुसार निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) लाई मनोनयन गरिएको छ । घलेले दसौं अधिवेशन २२ देखि २५ मार्चसम्म काठमाडौंमा आयोजना हुने गरी मिति तोकेका छन् । संघको विधानअनुसार गत २३-२५ अक्टोबरमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो ।

त्यसपछि गत १५ डिसेम्बरमा पुनः अर्को निर्वाचनको मिति तय गरियो । तर वर्तमान नेतृत्वले प्रतिनिधि विवाद समाधान नगरी जबर्जस्ती अधिवेशन गर्ने प्रयास गरेकोले त्यो पनि सम्भव भएन । संघको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी विधानविपरीत उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।

प्रतिनिधि विवाद समाधानका लागि संघको कार्यसमितिले प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा पूर्वसभापतिहरू र वर्तमान सभापति कुमार पन्त सम्मिलित सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । तर उच्चस्तरीय समितिले काम गरिरहेको अवस्थामा कामचलाउ समितिका अध्यक्ष पन्त नेतृत्वको समितिले अधिवेशनको मिति घोषणा गर्दै प्रतिनिधिको नामावली निर्वाचन समितिमा पठायो । उच्चस्तरीय समितिले महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन निर्वाचन समितिमा दाबी विरोध पठाएपछि पन्तले आईसीसीको बैठक बोलाई अल्पमतको उपस्थितिमा विधानविपरीत उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्नेलगायतका निर्णय गरेपछि विवाद देखिएको हो ।

प्रमुख संरक्षक घलेले शुक्रबार कामचलाउ समितिले अगाडि बढाएका निर्वाचन र महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया खारेज गर्दै नयाँ प्रक्रिया सुरु गरेका हुन् । कामचलाउ समितिले सुरु गरेको निर्वाचन प्रक्रियामा संस्थाको सुधारको माग गर्दै आइरहेका बहुसंख्यक एनसीसीहरू र अभियन्ताहरू सहभागी नभएपछि घले सक्रिय भएका हुन् । संस्थापनको एकपक्षीय हर्कतले संस्था विभाजन हुने अवस्थामा पुगेपछि संस्थाको रक्षाका लागि कदम चाल्नु परेको घलेको भनाइ छ ।

संस्थापन पक्षले एकपक्षीय सुरु गरेको निर्वाचन प्रक्रियामा संघका बहुमत पञ्जीकृत सदस्यहरूको सहभागिता छैन । एक लाख हाराहारीमा सदस्य रहेको एनआरएनमा सबैभन्दा बढी सदस्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र जापानमा छन् । एनसीसी जापानको निर्वाचन प्रक्रियामा केही विवाद रहे पनि विधिसम्मत निर्वाचनबाट चुनिएका अन्य चार एनसीसीलाई पन्तले अकस्मात विघटन गरिदिएपछि पनि संस्था विभाजनको संघारमा पुगेको थियो । विभाजनको जोखिम टार्न प्रमुख संरक्षकले विधानले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्वाचन प्रक्रिया थालनी गरेका हुन् ।