भूपूगोर्खाको मुद्दामा राजदूत र सञ्चारकर्मीबीच लन्डनमा अन्तरक्रिया

भूपूगोर्खाको मुद्दामा राजदूत र सञ्चारकर्मीबीच लन्डनमा अन्तरक्रिया



लन्डन । बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पुर्व गोर्खाका समस्या समाधानका लागि प्रारम्भिक वार्ता सुरु भैसकेको जनाएका छन् । बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १४ संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य उक्त जानकारी दिएका हुन् । उनले गोर्खा वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए । राजदुत आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजक हुन् ।

कार्यक्रममा राजदूत आचार्यले चार बर्षे कार्यकालमा नेपाल र बेलायतबिच गरिने कार्यक्रमको प्राथमिकता निर्धारण गरि कामहरु अघि बढाइएको जनाए । उनले कोरोना महामारीपछि बेलायत–नेपालको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । “बेलायतसंग ब्यापार, पर्यटन , कला संस्कृति लगायतका विविध विषयमा आफ्नो कार्यकालमा ठोस र उपलब्धिमुलक कार्य गरिने योजना बनाएको छु,” उनले पत्रकारहरु माझ भने, “यसमा तपाईको सहयोग र सहकार्यको खाँचो छ ।” राजदुतावास सूचना केन्द्र स्थापना गर्न कार्य सकारात्मक भएपछि आवश्यक सल्लाहको खाँचो उनले औल्याए ।

नेपाल पत्रकार महासंघ बेलायत तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा आइतबार राजदुतावास लण्डनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त अवसरमा अध्यक्ष निरौलाले दुताबाससंग पत्रकारहरु सहकार्य गर्न तयार रहेको बताए । उनले यहाँस्थित संचार सम्बद्ध संस्थााहरुले दुतावासमा एउटा सूचना केन्द्र र पुस्तकालय स्थापना गर्न चाहेको बताए ।

अन्तरक्रिया कार्यक्रमा वरिष्ठ पत्रकारहरु सुमन खरेल, बालमुकुन्द जोशी, गोविन्द बेलवासेलगायतले बेलायतमा नेपाली पत्रकारिताको विगतको अनुभव र भविष्यको चनौतीका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा एनआरएनए यूकेका पूर्व महासचिव राजकुमार त्रिपाठीले बेलायतमा अनलाईन मिडियाका समस्याका बारेमा प्रकाश पारे । कार्यक्रममा नेपाली चलचित्र पत्रकारिताका बारेमा वरिष्ठ संचारकर्मी मनिष श्रेष्ठ आफ्नो अनुभव सुनाए । पत्रकार तथा सामाजिक अभियन्ता संगीता मरहठ्ठाले संचारमा महिलाको भुमिका बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष संजयभक्त कंडेलले संचालन गरेको कार्यक्रममा संघका वरिष्ठ सदस्य खुशी लिम्बुले स्वागत मन्तव्य दिएका थिए । महासंघ सल्लाहकार डा. जगन कार्कीले समेत पत्रकारिताका चुनौती र गर्नुपर्ने कार्यहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

बेलायतबाट नेपाली र अंग्रेजी भाषामा संचालनमा रहेका अनलाईन पोर्टलका सम्पादक, रिपोर्टर र संचालकहरु कार्यक्रममा उपस्थित थिए । उक्त कार्यक्रममा ब्रिटिशखवर डटकम, नेपाल मामिला डटकम, डायस्पोरानेपाल डटकम, दपर्ण संसार डटकम, नेपाल संसार डटकम, ग्लोवल नेप्लिज डटकम, ग्लोवल दैनिक डटकम, ग्लोवल नेपाली पत्र डटकम, साउथ एसिया डट कम ,शितलपाटी न्युज डटकम, सिलौटी टाइम्स डटकम र लण्डन काठमाडौं डटकम लगायतका मिडियाहरु सह-आयोजकका रुपमा रहेका थिए ।