एनआरएन विवादमा बोल्यो जनसम्पर्क समिति, सम्भावित विभाजन रोक्न अनुरोध

एनआरएन विवादमा बोल्यो जनसम्पर्क समिति, सम्भावित विभाजन रोक्न अनुरोध



न्यूयोर्क,अमेरिका । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचन र सम्भावित विभाजनको विषयमा नेपाली जनसम्पर्क समितिका सभापतिहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। एनआरएनमा विदेशमा छरिएर रहेका जनसम्पर्क समितिका सदस्यहरुको प्रभाव र बाहुल्यता रहेको छ। प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनको आन्तरिक विषयमा जनसम्पर्क समितिका विश्वका विभिन्न देशका सभापतिहरुको संयुक्त बैठकले सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध गरेको छ।

गत शनिवार सम्पन्न भर्चुअल छलफलका सहभागी समितिका विभिन्न मुलुकका सभापतिहरुले एनआरएन विवादको विषयमा मातृ पार्टी नेपाली कांग्रेसको धारणा नै आधिकारिक हुने भन्दै पार्टी नेतृत्वलाई लोकतान्त्रिक विचार पक्षधर आफ्ना सदस्य र शुभेच्छुकहरु सबैलाई एकै ठाउँ समेट्ने गरी समन्वय गर्न अनुरोध समेत गरेका छन्।

छलफलमा विभिन्न २० मुलुकका सभापतिहरुको सहभागिता रहेका थियो। छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ,-‘गैर आवासीय नेपाली संघको १० औं महाधिबेसनको केन्द्रीय प्रतिनिधि छनोट बिबादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई बिभाजनतर्फ उन्मुख गराएकोप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसखाले गतिविधिप्रति तीव्र बिमति जनाउदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न र संस्थालाई बिभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं। ‘

सभापतिहरुको यो संयुक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफुहरुको छलफलको विषयमा लिखित जानकारी गराउने भएको छ। समितिका सभापतिहरुले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा यस पहिले समितिका दुई जना सभापतिलाई मनोनित गरेकोमा सभापति देउबालाई धन्यवाद दिंदै यसपटक पनि सोही संख्या कटौती नगर्न र समितिको तर्फबाट एकजना सभापतिलाई केन्द्रीय सदस्य मनोनित गर्न सभापति देउबालाई अनुरोध गर्ने निर्णय गरेका छन्।

को को थिए संयुक्त बैठकमा ?

शनिवारको संयुक्त भर्चुअल बैठकमा २० देशका जनसम्पर्क समितिका सभापतिहरु सहभागी थिए। हाल ३५ देशमा जनसम्पर्क समितिको संगठन विस्तारित छ। बैठकमा सहभागी हुन नसकेका कतिपय देशका सभापतिहरुले संयुक्त छलफलको निर्णयमा आफुहरुको सहमति रहने जानकारी गराएका थिए। बैठकमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति,ओमानका सभापति शालिकराम चापागाईसहित क्यानडाका सभापति बुद्धिप्रकाश ओली,साउदी अरबका सभापति अर्जुन थापा,युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना,कतारका सभापति अजीज अली सहभागी थिए।

यसैगरी कुबेतका सभापति राजेन्द्र रसाइली बिरही,इजरायलकी सभापति दिपीका भुषाल,बेलायतका सभापति युवराज गुरुङ,बेल्जियमका सभापति पूर्ण तिमिल्सिना,फ्रान्सका कार्यवाहक सभापति ईन्द्र बस्नेत,अष्ट्रियाका सभापति जीवनजंग कुँवर,कोरियाका सभापति भजेन्द्र क्षेत्री,जर्मनीका सभापति शिखर खड्का,जापानका सभापति रोशन केसी,माल्टाका सभापति संदेश केसी,नेदरल्याण्डका सभापति शालिक गौतम,अष्ट्रेलियाका उप सभापति दिलीप पोखरेल,नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याल सहभागी थिए।