नेपाल-युएईबीच यस्ताे सहमति

नेपाल-युएईबीच यस्ताे सहमति



काठमाडौं । नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएकाे थियाे ।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता युएईले गरेको छ ।

साथै युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुन:एकीकरण योजनामा सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिवद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णतया नि:शुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि युएई सहमत भएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्यर बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको थियो ।

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल भएको थियो । युएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गरेका थिए ।