एनआरएनए चुनावः डमी उम्मेदवार खडा गरेर अफवाह फैलाउने प्रयास, भ्रममा नपर्न आग्रह

एनआरएनए चुनावः डमी उम्मेदवार खडा गरेर अफवाह फैलाउने प्रयास, भ्रममा नपर्न आग्रह



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचनलाई लिएर केही व्यक्तिहरुले भ्रम फैलाउने काम सुरु गरेको भन्दै महाधिवेशन तयारी समितिले कुनै पनि भ्रममा नपर्न र यही मार्च २२ देखि २५ सम्म अर्थात चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन आग्रह गरेको छ ।

संघमा विवाद भई महाधिवेशन हुन नसकेपछि प्रमुख संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै गत साता चैत ८—११ गतेसम्म भौतिक उपस्थितिमा नै काठमाडौंमा हुने गरी महाधिवेशन तोकेका थिए । सोही कार्यतालिका अनुसार महाधिवेशन हुने र सोही क्रममा निर्वाचन प्रक्रिया पनि सुरु हुने तयारी समितिले जनाएको छ । महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामाको संयोजक र अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको तयारी समिति गठन गरिएको छ भने ६ सदस्यीय निर्वाचन समिति पनि गठन भएको छ ।

यसअघि संघको काम चलाउ आइसीसीका अध्यक्ष कुमार पन्तले गठन गरेको निर्वाचन समितिलाई प्रमुख संरक्षक घलेले पुनर्गठन गरेका हुन् । भीमसेन बन्जारा नेतृत्वको निर्वाचन समिति खारेज गर्दै घलेले विश्व बरालको संयोजकत्वमा निर्वाचन समिति बनाएका छन्। बराल संयोजकत्वको निर्वाचन समितिले गराएको निर्वाचन मात्रै आधिकारिक हुने छ ।

अफवाह फैलाउ डमी उम्मेदवार
संस्था कब्जा गर्ने उद्देश्यले विवाद समाधान नै नगरी एक पक्षीय रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको काम चलाउ समितिले डमी उम्मेदवार खडा गरेर मनोनयनको नाटक गरेको छ ।

बहुसंख्यक एनसीसी र सदस्यहरुले उक्त निर्वाचन प्रक्रियामा भाग नलिएपछि प्रतिस्पर्धा देखाउन केही पदमा डमी उम्मेदवार खडा गरिएको छ भने अधिकांश पदमा सर्वसम्मतको नाटक मन्चन गरिएको छ । अध्यक्षमा उम्मेदवारी दिएकी भनिएकी अमेरिकाकी रबिना थापा, महासचिवमा उम्मेदवार दिएको भनिएका बेलायतका विनय अधिकारी लगायतका व्यक्तिहरुको उम्मेदवारी केबल देखाउनका लागि मात्रै भएको स्पष्ट छ । उम्मेदवारी दिएका कतिपयको त सदस्यता नै नवीकरण गरिएको छ । सम्बन्धित एनसीसीहरुले सदस्यता शुल्क नबुझाएपछि अधिकांश उम्मेदवार भनिएकाहरु नै गैर सदस्य भएका छन् ।

गैरसदस्य उम्मेदवार
संघको सदस्यता हरेक २ वर्षमा नवीकरण गर्नुपर्छ । सम्बन्धित एनसीसीले तोकेको समयभित्र आवेदन दिई तोकिएको शूल्क बुझाई सो शूल्क एनसीसीले आइसीसी सचिवालयमा दाखिला गरेपछि मात्रै सदस्यता नवीकरण हुन्छ ।
तर, बेलायत, अमेरिका, अस्टेलिया, क्यानडा, जापान लगायतका देशमा रहेका एनसीसीमा सदस्यता रहेका व्यक्तिहरुको सदस्यता शुल्क आइसीसी सचिवालयमा दाखिला गरिएको छैन ।

ती देशले महाधिवेशन प्रतिनिधिको विवाद समाधान नभएसम्म सदस्यता शूल्क नबुझाउने अडान राखेका छन् । प्रमुख संरक्षक घलेले तोकेको समितिलाई मात्रै ती देशले सदस्यता शूल्क बुझाउने छन् । घलेले आह्वान गरेको समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने उनीहरुको तर्क छ ।

त्यसैले, रबिना थापा, हेमराज शर्मा, गौरी जोशी, रामशरण सिंखडा लगायतको उम्मेदवारी स्वतः अवैध छ । एकपछि अर्को अवैधानिक काम गर्दै आइरहेको काम चलाउ समितिले उम्मेदवारीका नाममा पनि अवैध कामको श्रृंखलालाई दोहोर्याएको छ ।

सूर्यमुखीको चर्चा
गैर राजनीतिक भनिए पनि संघका केही पदाधिकारीका कारण गैरआवासीय नेपाली संघ यसपाली नराम्ररी राजनीतिक दाउपेचको सिकार भएको छ । खासगरी केपी शर्मा ओली पक्षीय नेकपा एमाले समर्थित संघका अभियन्ताहरुले संस्थालाई राजनीतिको भासमा फसाएका हुन् ।

अध्यक्ष कुमार पन्त र उपाध्यक्ष बद्रि केसीको योजनामा संस्थालाई एमालेकरण गर्न खोजिएको छ । एमालेमा आस्था नराख्ने अभियन्तालाई सम्बन्धित एनसीसीबाटै रोक्ने र रोक्न नसकिए आइसीसीमा प्रवेश गर्नै नदिने चालबाजी अनुसार विधानविपरीत हर्कत गरिएको संघकै अभियन्ताहरुको बुझाइ छ । एमाले अध्यक्ष ओली केसीलाई जसरी पनि अध्यक्ष बनाउन चाहन्छन् । पन्तले पनि त्यसैका लागि वातावरण बनाइरहेका छन् । पद र अन्य सुविधा पाउने लोभमा अमेरिकाका रबिना थापा र गौरी जोशी तथा बेलायतका हेमराज शर्मा पन्त र केसीको मतियार बनेका छन् ।

जनसम्पर्क समितिहरु एकजुट
गैर राजनीतिक छबि बनाएको गैर आवासीय नेपाली संघलाई जबर्जस्ती एमालेकरण गर्न खोजिएपछि विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरु एकजुट भएका छन् । जनसम्पर्क समिति नेपाली कांग्रेसको प्रवासस्थित संगठन हो ।
संस्थालाई राजनीतिक प्रभाव नपार्न प्रयत्न गरिए पनि एमालेकरण गर्न खोजिएपछि प्रतिवादमा उत्रिनु परेको उनीहरुको ठहर छ । राजनीतिक आस्थाका आधारमा विधानविपरीत काम भएको र त्यसलाई रोक्न र संस्थाको मर्यादा र गरिमा बचाउन सबै एकजुट हुनुपर्ने जनसम्पर्क समितिको निष्कर्ष छ । विश्वका २२ जनसम्पर्क समितिका सभापतिहरुले भनेका छन्, प्रमुख संरक्षक घलेले विधान बमोजिम बोलाएको महाधिवेशन सफल पारौं, संघलाई विवादमुक्त बनाऔं ।