रियलको मैदानमा बार्सिलोनाको सान

रियलको मैदानमा बार्सिलोनाको सान


ग्लोब नेपाल
189
Shares

मड्रिड । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि ४-० अन्तरको सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।

जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक-एक गोल गरे । खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो ।

४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए । हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

युभेन्ट्स र रोमा विजयी
सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ । आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ । अर्काे खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेकाे छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा छ ।