स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै एमाले

स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै एमाले

घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त आउने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ । घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।

एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ । तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन । जबकि अबको ३० औं दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ । आगामी ५१ औं दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।