दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने


ग्लोब नेपाल
351
Shares

लमजुङ । लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङदी ४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण पूरा नहुँदा निर्माण सकेपनि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । उक्त आयोजना कूल ९ अर्ब लागतमा निर्माण हुनेछ ।

२७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएपनि भूकम्प, नाकावन्दी र बाढिका कारण विद्युत उत्पादनमा ढिलाई भएको हो । आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आयोजना कुल ४ अर्ब लगानीमा निर्माण भएको हो । लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परिक्षणको चरणमा छ । यो आयोजना करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना ०७५ मंसीरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि भुकम्प, बाढी र कोभीडका कारण विद्युत उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी १ (१२.५ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । झन्डै २ अर्ब ५० करोड लागतमा निर्माण गरीने सो आयोजना ०७७ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण निर्माण थकेलिएको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । प्रवर्द्क छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।