चिनियाँ विदेशमन्त्री विहान घुमघाममा, अपरान्ह विभिन्न कार्यक्रममा व्यस्त

चिनियाँ विदेशमन्त्री विहान घुमघाममा, अपरान्ह विभिन्न कार्यक्रममा व्यस्त

विदेशमन्त्री वाङसहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।


ग्लोब नेपाल
243
Shares

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ । शुक्रबार अपरान्ह नेपाल आएका विदेशमन्त्री वाङ यी विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगे पनि कुनै औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन् । ३ बजेदेखि मात्र उनको औपचारिक कार्यक्रम सुरु हुनेछ । दिउँसो साढे ३ बजेदेखि पौने ४ बजेसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदेशमन्त्री वाङबीच विशेष भेटवार्ता हुनेछ । विदेशमन्त्री वाङसहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

विदेशमन्त्री वाङ यीले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जसअनुसार उनी पौने ६ बजेदेखि सवा ६ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा व्यस्त हुने तालिका छ ।

सोही क्रममा सवा ६ बजेदेखि साढे ६ बजेसम्म प्रधानमन्त्री देउवासँगै विदेशमन्त्री यीले काठमाडौंबाट भर्चुअल रूपमा हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागिता जनाउने छन् । त्यसपछि परराष्ट्रमन्त्री खड्काले आजै साँझ विदेशमन्त्री यीका लागि आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।