काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटर पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितीमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए ।
आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।
चिनियाँ विदशेमन्त्री वाङ्ले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया