कांग्रेसले तुहाइ दिएको सपना र विश्वराजको गाउँ

कांग्रेसले तुहाइ दिएको सपना र विश्वराजको गाउँ

'विश्वराज प्रहरी प्रमुख बनेपछि गाउँमा डाकेर ठूलो सम्मान गर्ने योजना बुनेका थियौं । यसले यहाँका विद्यार्थी र गाउँको नयाँ पुस्तालाई ठूलो प्रोत्साहन र हौसला मिल्थ्यो भन्ने हाम्रो अपेक्षा थियो । हामीले तयारी पनि थालेका थियौं । लक्ष्मण पोखरेलको मात्र होइन, सरकारले गाउँलेको सपना पनि तुहाइ दिए’



यसपटक पूर्वको ऐतिहासिक गाऊँ रुम्जाटार पुग्ने अवसर मलाई पनि जु-यो। घुमीफिरी रुम्जाटार भन्ने लोकोक्ति सानैदेखि सुन्दै आएकी थिएँ। यो ठाउँको बारे म धेरै जानकार नभए पनि घुमिफिरी रुम्जाटार शब्द मेरो लेखनको क्रममा धेरै पटक प्रयोग गरेकी छु।

रुम्जाटारको सिरानमा शुक्रबारे हाट लाग्ने रहेछ। त्यहीँ मुन्तिर बाटैमा एआइजी विश्वराज पोखरेलको घर रहेछ। रुम्जाटारको वस्तुस्थिति बुझ्ने उदेश्यले नजिकैको चिया पसलमा स्थानीयसँग गफिन थालेँ।

म संचारकर्मी पनि भएको थाहा पाएपछि एक जना वृद्ध जोसिदै भने, “हेर नानी काँग्रेसले यस टक आफ्नै पुरानो कार्यकर्ताको सपना तुहाइ दिए नि !” म उहाँप्रति अरु जिज्ञासु बनेर थप कुरा बुझ्न खोजेँ, मैले आफ्नो जिज्ञासा राख्न नपाउँदै, आफ्नो कुरा प्रष्ट्याउँदै उनले भने, ‘ऊ त्यो घर लक्ष्मण पोखरेलको हो। अहिले काँग्रेसले आइजीपी हुन नदिएको विश्वराज पोखरेलको घर। उसको बुबा लक्ष्मण पोखरेल, गाउँका मान्छेहरू उनलाई लक्ष्मी पोखरेल भन्ने गर्छन्। उनी यो गाउँका काँग्रेसका पुराना नेता थिए, उनी जीवनभर काँग्रेसी बनेर रहे र काँग्रेसकै नाममा धेरै दु:ख पनि बेहोरे। ‘

उनलाई प्रहरी प्रमुखको रुपमा गाउँमा स्वागत गर्ने र उनको बुबाको सपना सम्झाइ दिने ठूलो इच्छा थियो सबै अधुरै भए

चिया पसलमा जम्मा भएका स्थानीयहरु प्रहरी प्रमुख नियुक्तिको विषयमा निकै जिज्ञासु देखिए, उनीहरू एकपछि अर्को गर्दै मसँग आफ्नो कुराको बेली बिस्तार लगाउन थाले।

एक जना बृद्धले भन्नु भयो, ‘हिजो दलगत राजनीतिमाथि प्रतिबन्ध लागेको बेला देशको कुनै पनि कुनामा पन्चायत बिरोधी छिसिक्क केही कुरा हुन साथ, उसको ढोकामा प्रहरी आइपुग्थ्यो र उनलाई पक्रेर जिल्ला लैजान्थ्यो। उनलाई प्रहरीले पक्रेर लगेको धेरै पटक देखेको छु।’

प्रहरीको व्यवहारले आजित बनेका उनले आफ्नो तीन छोरा मध्ये कसैलाई प्रहरी अधिकृत बनाउने सपना साँचेका थिए। प्रहरी कहिल्यै जनमुखी भएन उनीहरूले जनताप्रति गर्ने व्यवहार राम्रो भएन प्रहरी जनताको हुनुपर्ने यसलाई राज्यले गलत तरिकाले प्रयोग गरे। यो उहाँले सधैं गर्ने गुनासो मध्येको एक हुन्थ्यो। मेरो छोरा मध्ये कोही प्रहरीको उच्च अधिकारी बनेर यो सबै बेथिति सुधारोस् भन्ने चाहान्छु, लक्ष्मण पोखरेलको विगतका कुराहरू सम्झदै एक स्थानीयले भने।

अहिले लक्ष्मण पोखरेलले देखेको त्यो सपना पूरा हुने संघारमा थियो। विडम्बना काँग्रेस नेतृत्वको सरकारले नै काँग्रेसका एक पुराना नेताको सपना तुहाइ दिए। थकथकाउँदै एक स्थानीय बृद्ध काँग्रेसी नेताले भने, ‘ उनलाई प्रहरी प्रमुखको रुपमा गाउँमा स्वागत गर्ने र उनको बुबाको सपना सम्झाइ दिने ठूलो इच्छा थियो सबै अधुरै भए। ‘

रुम्जाटारको बस्ती ।

‘आफ्नो गाउँका मान्छे ठूलो मान्छे हुँदा ठाउँको शान नै बढ्थ्यो नि, तर यसपटक सरकारको निर्णयले हामीलाई पनि दुखी तुल्यायो। हामी आफ्नो गाउँको ठिटो प्रहरी प्रमुख बन्ने भए भनेर निक्कै उत्साहित थियौँ, एक शिक्षकले भने, ‘विश्वराज गाउँ कै स्कूलबाट एसएलसी गरेर शहर पढ्न गएका रहेछन्।’ विश्वराज प्रहरी प्रमुख बनेपछि गाउँमा डाकेर ठूलो सम्मान गर्ने योजना बुनेका थियौं । यसले यहाँका विधार्थी र गाऊँको नयाँ पुस्तालाई ठूलो प्रोत्साहन र हौसला मिल्थ्यो भन्ने हाम्रो अपेक्षा थियो। हामीले तयारी पनि थालेका थियौं। लक्ष्मण पोखरेलको मात्र होइन सरकारले गाऊँलेको सपना पनि तुहाइ दिए’, ती शिक्षकले दुख मान्दै भने।

अहिले अन्यत्र जस्तै रुम्जाटारमा पनि स्थानीय चुनावको चहलपहल निकै बढेको रहेछ। ओखलढुङगा जिल्ला सिध्दिचरण नगरपालिका अन्तर्गत वडा नं ४ मा पर्ने रुम्जाटारमा आइजीपी नियुक्तिको विषय पनि स्थानीय राजनीतिको मुद्दा बनिरहेको पाएँ।

प्रहरी प्रमुख नियुक्ति सम्बन्धी सरकारको निर्णयले हामीलाई पनि दुखी बनाएको छ, एक स्थानीय काँग्रेसी नेताले भने। सरकारको यो निर्णयबाट हामीले रक्षात्मक बन्नुपर्ने अवस्था झेली रहेका छौं। प्रतिस्पर्धी दलहरूसँगै स्थानीय जनताको समेत विभिन्न प्रश्नहरूको सामना हामीले गर्नु परिरहेको छ। प्रजातान्त्र पुनः प्राप्तिको आन्दोलनमा उनको परिवारका योगदान ठूलो छ, उनले भने।

पंचायतकालमा पंचहरुले आयोजना गर्ने विभिन्न -यालीको क्रममा बाटैमा रहेको लक्ष्मण पोखरेलको घरमा अराष्ट्रिय तत्वको घर भन्दै सधैं ढुङ्गा हानिन्थ्यो। एक स्थानीय राजनीतिक कार्यकर्ताले पुराना दिन सम्झदै भने, त्यस्ता जुलुसमा सहभागी गराएका स-साना विधार्थीहरूलाई ढुङ्गा हान्न पञ्चहरुले सुटुक्क उक्साउने काम गर्थे।

पूरै परिवार राजनीतिमा सक्रिय रहे पनि विश्वराजको राजनीतिक सक्रियतालाई भने हामीले ठम्याउन सकेका छैनौं, एक सेवानिवृत्त शिक्षकले पुराना दिन सम्झदै भने, स्कूलका अत्यन्तै जेहेन्दार र सालिन विधार्थी थिए, उनी भलिबल पनि राम्रो खेल्थे। ‘

पहिले रुम्जाटार गाउँ विकास समिति र हाल सिध्दिचरण नगरपालिकाभित्र रहेको यो बस्तीमा गुरुङ जातिको बाहुल्यता छ। यो बस्तीलाई तत्कालिन समयमा ९ वटा वडामा विभाजन गर्दा प्रत्येक वडाको आ-आफ्नै मौलिक पहिचान र इतिहास रहेकोले गर्दा त्यसैको आधारमा वडाको नामाकरण र विभाजन गरिएको रहेछ। मोहोरिया गाउँ, बितलप, डाडाँ टोल, बुढाटोल ,लामा गाउँ, जगरबोट, माँझ चण्डी गाउँ, काफलवोट, चार्खु नामको बस्ती रुम्जाटारभित्र समेटिएको छ।

रुम्जाटारस्थित विश्वराज पोखरेलको घर ।

यहाँको वितलप र चार्खु पोखरेलहरूको बस्ती रहेछ। साविकको वडा नं ६ वितलपमा विश्वराज पोखरेलको घर रहेछ। वितलपको अर्थ नेपाली शव्दकोषमा कर नलाग्ने जग्गा भन्ने हुन्छ। त्यसैले रुम्जाटारभित्रको वितलप र चार्खु गाऊँ चाँहि पोखरेलहरूको बिर्ताको रुपमा मानिदो रहेछ। विगतको गुलजार पोखरेलहरूको बस्ती अहिले बसाइ सराइसँगै न्यून संख्यामा मात्र पोखरेलहरूको घर रहेको स्थानीयहरु बताउँछन्।

सडक संजालमा जोडिनु पूर्व जिल्ला प्रवेश गर्ने र बाहिरिने थलो रुम्जाटार रहेछ। जिल्लाको एकमात्र एअरपोर्ट रुम्जाटारमा रहेको छ। रुम्जाटार विमानस्थलबाट काठमाडौं, विराटनगर र जनकपुरमा नियमित हवाई उडान संचालन हुने गरेको स्थानीय बताउँछन्। अहिले विमानस्थल पीच भएको छ तर हवाई उडान भने बन्द छ।

जिल्ला सडक संजालमा जोडिएपछि यात्रु अभावमा हवाई उडान बन्द भएको स्थानीयले बताए।आगनमै विमानस्थल भएर पनि बिरामी र साह्रो गाह्रो पर्दा हेलीकप्टर चाटर्ड गर्नुपर्ने नियति रुम्जाटारवासीले बेहोरी रहेका छन्। यो पनि विश्वराजलाई प्रहरी प्रमुखको रुपमा गाउँलेले स्वागत गर्न नपाए जस्तै विडम्बना बनेको छ, एक स्थानीय शिक्षकले ठट्टा गर्दै भने।
राई हाल बेइजिङबाट विधावारिधि गर्दैछिन् ।