इजरायलको ‘लर्न एन्ड अर्न कार्यक्रम’ मा कृषि क्याम्पसका सय विद्यार्थी

इजरायलको ‘लर्न एन्ड अर्न कार्यक्रम’ मा कृषि क्याम्पसका सय विद्यार्थी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । इजरायलको ‘लर्न एन्ड अर्न कार्यक्रम’ मा सहभागी हुन चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय एक सय विद्यार्थी छनोट भएका छन् । छनोट गर्न उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोर चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा अन्तर्वार्ता लिन पुगेका थिए । एएफयूका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी र इजरायली राजदूत हानान गोडरको उपस्थितिमा उक्त अन्तर्वार्ता लिइएको थियो ।

चिठ्ठाबाट छनोट गरिएका आवेदकहरूको अन्तर्वार्ता लिइयो र तिनीहरूमध्ये एक सयजना उम्मेद्वारलाई इजरायलको उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रमा ‘सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रम’ का लागि छनोट गरिएको थियो । यो कार्यक्रम सैद्धान्तिक र व्यावहारिक संयुक्त परियोजना हो।

सातामा एक दिनको सैद्धान्तिक अध्ययन र पाँच दिनको व्यवहारिक तालिम हुन्छ। सहभागी नेपालीको तलब इजरायली मापदण्ड अनुसार हुनेछ । चिठ्ठा र अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिएको हो । ११ महिनाको बृहत् तालिमबाट फर्किएपछि विद्यार्थीहरूले आफ्नो ज्ञान, आधुनिक प्रविधि र इजरायलबाट सिकेका सीपहरू आफ्ना परिवार र नेपालका किसानसँग बाँड्ने छन्।

छनोट भएका विद्यार्थीलाई सफल यात्राको शुभकामना कामना दिँदै दूतावासले उनीहरु नयाँ सीप र उत्साहका साथ फर्केर कृषि क्षेत्रमा आफ्नो भविष्य समर्पित गर्ने विश्वास व्यक्त गरेको छ ।

भ्रमणका क्रममा राजदूत हानान गोडरले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेका थिए । मेयर दाहालसँग कृषि क्षेत्रमा सहकार्य र अन्य आपसी चासोका विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

सन् २०१३ मा सुरु भएको ‘सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रम’ मा ३ हजारभन्दा बढी नेपालीहरूले भाग लिइ सकेका छन् । तिनीहरूमध्ये धेरैले नेपालभर आधुनिक खेती लागू गरेका छन्।