निर्वाचनमा गठबन्धनका अन्य दलबाट धोका भएको एकीकृत समाजवादीको निष्कर्ष

निर्वाचनमा गठबन्धनका अन्य दलबाट धोका भएको एकीकृत समाजवादीको निष्कर्ष


ग्लोब नेपाल
182.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । ‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि ? अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए।

बैठकले प्रदेश १ मा जयन्ती राई,मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

सचिवालयको बैठक भोलि ११ बजे पुनः बस्ने छ।