सुदूरपश्चिममा विकासका सम्भावना धेरै छन्: प्रधानमन्त्री देउवा

सुदूरपश्चिममा विकासका सम्भावना धेरै छन्: प्रधानमन्त्री देउवा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशले विकासमा निकै ठूलो फड्को मारेको बताएका छन् ।

आईतबार सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताए । भावुक मुद्रामा देखिएका प्रधानमन्त्री देउवाले आफ्नो काठमाडौंको पहिलो यात्रा सम्झिए । साथै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे पनि आफ्ना धारण राखे ।

‘पहिला डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि काठमाडौं पढ्न आएको हुँ,’ प्रधानमन्त्रीले भने, ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट गाडी चढेर काठमाडौं आएको हुँ । त्यस्तो अवस्था थियो पहिला ।’

अहिले कम्तीमा त्यस्तो समस्या नरहेको उनले बताए । ‘अहिले त बाटो जोडिएको छ । सुदूरपश्चिम जाने बाटो बनेको छ । जिल्ला जाने बाटो बनेको छ,’ उनले भने । तर, सुदूरपश्चिम अझै पनि विकासबाट निकै पछाडि रहेको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘गरिबी अझैपनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई जाने, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए ।