काठमाडौं । पूर्वसचिव भीम उपाध्याय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीबीच फेसबुक जुहारी चलेको छ । केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा भएको फोटोको विषयलाई लिएर पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जालमा केही सामाग्री पोष्ट गरेका थिए । उक्त पोस्टको जवाफ फर्काउँदै सचिव बुर्लाकोटीले फेसबुकमै जवाफसहित थप चुनौतीसमेत दिएका छन् ।
सचिव बुर्लाकोटीले पूर्वसचिव उपाध्यायलाई सरकारी निकायविरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।
पूर्वसचिव उपाध्यायले ‘सरकारी कार्यालयमा अहिले ९ महिना पछि पनि यस्तो छ प्रमको नाम’ भन्दै सचिवमा महेश्वर न्यौपाने र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेको स्किनसट फेसबुकमा सेयर गरेका थिए । त्यसको भोलिपल्ट सचिव बुर्लाकोटीले कतिपय सरकारी निकायको अर्काईभ साइट भएको बताउँदै जुन प्रयोगमा नभएको र त्यसलाई अपडेट नगरिने तथा नहटाइने जवाफ फर्काएका हुन् । ‘कतिपय सरकारी निकायको अर्काईभ साइट छ जुन प्रयोगमा छैन, त्यसलाई अपडेट गरिन्न र हटाइन्न पनि’ सचिव बुर्लाकोटीले लेखेका छन् ।
आफूले अग्रजलाई सम्मान गर्ने तर सरकारकै मानो खाएर सरकारलाई गाली गर्नेलाई जवाफ दिन उचित ठान्ने भन्दै सचिव बुर्लाकोटीले पूर्वसचिव उपाध्यायलाई थप चुनौतीसमेत दिएका छन् । ‘गोरु बुढो भएपछि भीर खोज्छ मानिस बुढो भएपछि निहुँ’ भन्दै सम्मानित शब्दबाट सुरु गरेका बुर्लाकोटीले पदमा रहँदा आफ्नो कार्यकालमा भएका १० वटा उल्लेखनीय काम जम्मा गर्न भन्दै दिँदै सहयोगीसहित लाइभ कार्यक्रममा बस्न उपाध्यायलाई चुनौती दिएका हुन् ।
‘म हिम्मतसाथ भन्छु यहाँ पदमा रहँदा गर्नु भएको १० उल्लेखनीय काम जम्मा गर्नुस् अनि यहाँको त्यतिखेरका सहयोगी साथीहरूसहित लाइभ कार्यक्रममा बसौँ अनि अरूलाई मूल्याङ्कन गर्न दिऔँ’ बुर्लाकोटीले उपाध्यायलाई लेखेका छन् ‘अहिले पीपीएमओले प्रयोग गरिरहेको साइट कुन हो त्यो पनि हेर्नुस् । आफूलाई आदर्श छु भन्नु भन्दा पहिला प्रमाणित गर्नुस् । म पनि तपाईंकै जातको सर्प हुँ, यहाँलाई याद होला सर्पको खुट्टा सर्पले देख्छ ।’
प्रतिक्रिया