मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट


ग्लोब नेपाल
81
Shares

मनाङ । सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ ।

संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको बताए ।

उनका अनुसार नार्पाभूमिमा मतदाता संख्या चार सय ४८ छन् । ‘सडक छाडेर दुई दिन हिँड्नुपर्छ । एउटा योजनामा मात्रै ५०र६० लाख खर्च गर्नुपर्छ । एकजना कामदारलाई मात्रै दैनिक दुई हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । नत्र कामदार पाइँदैन । हरेक हिसावले महँगो पर्छ । बजेट त अझै अपुग हो,’ उनले भने ।

मनाङमा सबैभन्दा बढी नासों गाउँपालिकाको जनसंख्या एक हजार ६ सय ७१ छ । संघीय सरकारले १९ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । हरेक नागरिकलाई बजेट विनियोजन गर्ने हो भने जनही एक लाख १७ हजार नौ सय ५३ रुपैयाँ ३२ पैसा बजेट पर्छ ।

सरकारले चामे गाउँपालिकालाई १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जहाँ एक हजार २ सय ७२ जनसंख्या छ । जनही बजेट वितरण गर्दा एक लाख ३३ हजार ४ सय ११ रुपैयाँ ९५ पैसा पर्छ।

मनाङ निस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । यहाँको जनसंख्या एक हजार पाँच सय ८४ छ । जनही बजेट वितरण गर्दा एक लाख ३ हजार ७ सय ८७ रुपैयाँ ८७ रुपैयाँ पर्छ ।