एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ ।

एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ। साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए । बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए ।

‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छौँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

पार्टीको सचिवालय सचिवालयको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खानालले पनि पुष्टि गरे । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने ।

एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।