बजेट पारित नहुँदासम्म मन्त्री हेरफेर नहुने, शपथ लिन तयार नेताहरु अलपत्र !

बजेट पारित नहुँदासम्म मन्त्री हेरफेर नहुने, शपथ लिन तयार नेताहरु अलपत्र !


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ। यससँगै समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ पनि रोकिएको छ ।

आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो ।

विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री फेर्ने कुरा असंसदीय र गैर जिम्मेवार हुने भन्दै प्रधानमन्त्री देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई पुनर्विचार गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी रहेको, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको तथा केही आन्तरिक तयारी गर्नुपर्ने लगायतका कारण देखाउँदै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

एकिकृत समाजवादीले पुराना मन्त्री हटाएर नयाँको नाम सिफारिस गरेपछि हटाइएका मन्त्रीले पार्टी र प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएका थिए। यसैबीच स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरूलाई बजारले मन्त्रीबाट हटाएको भन्दै बजारका कुरा बजारमै सकिएको र आफू काममा व्यस्त रहेको बताए ।

समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना ४ मन्त्रीलाई फिर्ता गरेर नयाँ नेतालाई जिम्मेवारी दिने निर्णय लिएको थियो। समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।

सोमवार बसेको गठबन्धनका नेताहरूको बैठकमा पनि मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल भएको थियो । नेकपा एसका एक सांसदले सोमवार नभए पनि पार्टीको सिफारिस अनुसार मन्त्रीहरू फेरिने दाबी गरे ।

गत वर्षको असोज २२ गते नेकपा एकिकृत समाजवादीका सांसद सरकारमा गएका थिए ।