कसलाई मन्त्री बनाउने भन्ने निर्णय पार्टीले गर्छ, अरु कुनै तागतले गर्ने होइन: झलनाथ खनाल

कसलाई मन्त्री बनाउने भन्ने निर्णय पार्टीले गर्छ, अरु कुनै तागतले गर्ने होइन: झलनाथ खनाल


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमती अनुरुप नै पार्टीका मन्त्रीहरुलाई परिवर्तन गर्न लागिएकाे बताएका छन्।

सोमवार संघिय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए । उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्व सहमति गरिएको खुलासा गरे । ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो, अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ, यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो ।’

६ महिनासम्म एउटा टीमलाई मन्त्री बनाउने त्यस पछाडि अर्को टीमलाई मन्त्री बनाउने पहिलेकै सहमति अनुसार निर्णय गरिएको खनालको भनाइ छ । ‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौं’, उनले भने, ‘६ महिनासम्म एउटा टीमलाई दिने, त्यस पछाडि अर्को टीम पठाउने भन्ने शुरूकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो, कमिटीले निर्णय गर्छ । त्यसलाई पालना गर्नुपर्छ । हाम्रो पार्टीमा लाखौं सदस्यहरू हुनुहुन्छ । लाखौं सदस्यहरू भए पनि कमिटीहरूले निर्णय गर्छन् । त्यसलाई हामी सबैले पालना गर्छौं । पद्धति नै त्यही हो नि !’