प्रदेश नम्बर १ को नामकरणका लागि नेकपा एमालेले बनायो समिति

प्रदेश नम्बर १ को नामकरणका लागि नेकपा एमालेले बनायो समिति


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ को नामकरण गर्नका लागी पाँच सदस्यीय एक समिति गठन गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरणका विषयमा एमालेलाई नेतृत्व लिन आग्रह गरेसँगै एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति बनाएको हो ।

समितिको सदस्यमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेको एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘समितिले प्रदेशको नामकरणका लागि दलका सांसदहरुबीच सहमति जुटाउनुका साथै अन्य दलहरुबीच सहमतिका लागि संवाद गरेर चालु बजेट अधिवेशनबाटै नामकरण गर्छौं,’ राजभण्डारीले भने, ‘एमाले बाहेक दलले प्रदेशको नामकरण गर्न नसक्ने अवस्था रहेकाले प्रदेशको नामकरणका लागि कटिबद्ध भएर समिति गठन गरेका छौं ।’

समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दलहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ। प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनुपर्ने चौतर्फी माग उठेपछि नेकपा (एमाले)ले समिति बनाएको हो।

७ वटा प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी रहेकाले प्रदेश सांसद र राजनीतिक दलहरु आलोचित हुँदै आएको छ ।

एमाले संसदीय दलको बैठकले प्रदेश सभाभित्र रचनात्मक भूमिका खेल्ने बारेमा पनि निर्णय गरेको राजभण्डारीले बताए। गठबन्धन सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रमको बारेमा एमालेले रचनात्मक भूमिका खेल्ने बारेमा छलफल भएको भण्डारीले बताए।

एमालेले यसअघि मन्त्री रहेका ४ जना सांसदलाई संसदीय समितिमा पठाउने निर्णय गरेको छ।