वाम एकता हुदैन, मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: ओली

वाम एकता हुदैन, मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: ओली


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने दावि गरे ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।’कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाइएको छैन, उहाँहरु आउन सक्नुहुन्छ’, उनले भने, ‘हिजो फुटेका पार्टीका नामका व्यक्तिहरू आज आएर मिल्न सक्ने अवस्था छैन।’

उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए । ओलीले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।

‘स्थानीय चुनावको कुरा बेग्लै हो। यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन। स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं। ६ दल मिले। कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो’, उनले भने, ‘धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्यौंस होला, तर हाराहारीको स्थितिमा छ। पपुलर भोटमा फेरि पनि अगाडि छौं। एमाले एमाले नै हो।’
अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउने पनि उनको दाबी छ।