प्रचण्ड-माधवलाई ओलीको प्रश्न: प्रधानमन्त्रीको अफर आयो रे, कसले गर्छ ?

प्रचण्ड-माधवलाई ओलीको प्रश्न: प्रधानमन्त्रीको अफर आयो रे, कसले गर्छ ?


ग्लोब नेपाल
4.3k
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कांग्रेसलाई एमालेजस्तो बनाइन्छ भनेर घुर्की लगाउनु भागबन्डा बढाउने मेलो मात्रै भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले कांग्रेसलाई एमालेजस्तो बनाइन्छ भनेर घुर्की लगाउनु भागबन्डा बढाउने मेलो भएको टिप्पणी गरेका हुन् । एमालेले प्रधानमन्त्रीको अफर गरिरहेको संकेत गरेर बोलिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले आफ्ना तर्फबाट त्यस्तो प्रस्ताव नगरिएको बताए। उनले भने, ‘मलाई प्रधानमन्त्रीको अफर आयो, म मान्या छैन भनेको सुनिन्छ। आफैं प्रधानमन्त्रीको अफर आयो रे, कसले गर्छ ? यो सबै बार्गेनिङ हो।’

प्रचण्ड र नेपालको औषधिउपचार थाहा भएको बताउँदै चिन्ता नलिन भनेर ओलीले कार्यकर्तालाई आश्वस्त पारे। उनले भने,’केही औषधि गर्नपर्‍यो त। अपरेशन गर्नु पर्‍यो हामी छँदैछ। हामीलाई उपचार गर्न आउँछ। तपाईंहरु ढुक्कले यहाँ पार्टी चलाउनुहोस्।’

लोभीपापी खान एक ठाउँ भएको बताउँदै ओलीले आफूले उनीहरुको विनास बाहेक अर्को बाटो नदेखेको टिप्पणी गरे। पार्टीले मन्त्री निस्कासन गर्दा म ननिस्केको भन्दै पार्टी नै हुन नसकेको बताए। उनले थपे, ‘पाएसम्म छुट्टा-छुट्टै डुँडमा खान्छन्। नपाए एउटैमा खान्छन्। सिंङ लाग्छ, खुट्टा लाग्छ। झगडा हुन्छ।’