बजेट पारित भएलगतै मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रीमा ज्ञानेन्द्रको चर्चा

बजेट पारित भएलगतै मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रीमा ज्ञानेन्द्रको चर्चा


ग्लोब नेपाल
3.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारी भए लगतै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथी संघीय संसदमा छलफल जारी रहेकाले बजेट पारित भएलगतै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेको छ । तर, प्रधानमन्त्री देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् । यसअघि गठबन्धनका शीर्ष नेताहरुको तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तोडिनेसम्मका धम्की दिइसकेका छन् ।

स्रोतका अनुसार अब एकीकृत समाजवादीका मन्त्री मात्रै हेरफेर नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको छ । बजेट पारित भएपछि मुख्यगरी अर्थमन्त्री फेर्ने सहमति गठबन्धनका शीर्ष नेताहरु बीचमा भइसकेको स्रोतको भनाई छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई प्रधानमन्त्री देउवाले गरिसकेको बताइएको छ ।

अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ । त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्नेछ। माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको चर्चा छ । तर नारायणकाजीलाई मन्त्री बनाउने सम्भावना भने प्रवल जस्तै छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) भित्र पनि मन्त्रीपरिषद् हेरफेरको विषयलाई लिएर चर्को असन्तुष्टि रहेको छ । सम्भवत प्रधानमन्त्री देउवाले जसपाभित्रको असन्तुष्टिलाई पनि सम्बोधन हुने गरी मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा रहेको स्रोतको भनाई छ ।