पोखरा पुगेर प्रचण्डले भने: निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन सुरु हुन्छ

पोखरा पुगेर प्रचण्डले भने: निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन सुरु हुन्छ


ग्लोब नेपाल
6.7k
Shares

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने उद्घोष गरेका छन् ।

शनिबार पोखरामा गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको भन्दै यसलाई परिवर्तन गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । , ‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने’, उनले कार्यकर्तालाई भने, ‘विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरुप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिले माओवादी केन्द्रबाहेक कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टाचार नै त्यहींबाट सुरु हुन्छ भन्ने बहस थालेको बताए । उनले भने, ‘यो विषयमा संविधान बनाउने बेलामा नै रिजर्भेसन राखेर निर्वाचन प्रणाली, शासकीय स्वरुप र पहिचानको मुद्दा ठीक ढंगले सम्बोधन भएको छैन, आउने दिनमा यसको निम्ति फेरि हामीले संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ भनेर संविधानसभामा लिखित नोट अफ डिसेन्ट लेख्ने पार्टी हामी नै हो ।’

उनले आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको दावि समेत गरे । प्रचण्डले प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको बताउँदै उनले त्यसो गर्दा माओवादी केन्द्र दोस्रो पार्टी हुने सम्भावना रहेको उल्लेख गरे ।