प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग


ग्लोब नेपाल
432
Shares

काठमाडौं । संघिय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाएका हुन् । ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताएका हुन् । सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्र्ने बताएको भन्दै सांसद ज्ञवालीले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्ने बताए ।

यसबारे प्रधानमन्त्री देउवाले संसदमा जानकारी गराउनुपर्ने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’

प्रधानमन्त्री देउवा आउँदो असारमा अमेरिका भ्रमणमा जाने तयारी गरेका छन् ।