रावलको कटाक्ष: देउवा पाँचपटक प्रधानमन्त्री बन्दा राष्ट्रघात भयो, सातौंपटक भए नेपाल रहला ?

रावलको कटाक्ष: देउवा पाँचपटक प्रधानमन्त्री बन्दा राष्ट्रघात भयो, सातौंपटक भए नेपाल रहला ?


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व जाँदा हरेक पटक अनिष्ट हुने टिप्पणी गरेका छन् ।

आईतबार संघिय संसदको प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताए । रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै नेपालको संविधानविपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन खोजेको बताए । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे ।

रावलले भने, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’

नेपालको संविधानको धारा ५१ को ‘ड’ द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको रावलले बताए । यस्तै, नेपाली जनताको रक्षा, अखण्डता, असंलग्नता र स्वतन्त्रता लगायतका विषयमा प्रधानमन्त्री कार्यालयको रुची नदेखिएको समेत उनले बताए ।