काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभाले किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई विशेष निर्देशन दिएको छ ।
सोमबार नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि प्रतिनिधि सभाले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रक समस्या समधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सदनमा पेस गरेका थिए । यो प्रस्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ । धानबाली लगाउने समयमा पनि रासायनिक मल उपलब्ध नभएको विषयमा प्रतिनिधिसभाले गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।


प्रतिक्रिया