एमालेको चुनावी समीक्षाः परिणाम अपेक्षाअनुसार आएन, प्रमुख शक्तिका रुपमा स्थापित भयौं

एमालेको चुनावी समीक्षाः परिणाम अपेक्षाअनुसार आएन, प्रमुख शक्तिका रुपमा स्थापित भयौं


ग्लोब नेपाल
486
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले देशका कयौं स्थानमा, स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा स्थानीय तहको चुनाव हुन नसकेको पनि निष्कर्ष निकालेको छ । सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो ।’

निर्वाचन प्रकृयामा सत्तारुढ गठबन्धनबाट भएका यी विकृतिप्रति आफूहरुको गम्भीर चिन्ता रहेको उनले बताए । उनले २०७४ को निर्वाचनभन्दा एमाले कमजोर भएको तर पपुलर मतमा एमाले अग्रपंक्तिमा कायमै रहेको जिकिर गरे । ‘३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उनले भने ।

चुनावी परिणामबारे भने एमालेको दुईथरि विश्लेषण छ । यसका केही बाह्य र केही आन्तरिक कारण भएको एमालेको निश्कर्ष छ ।

पार्टीविरुद्ध गठबन्धन, चुनावमा सत्ताको दुरुपयोग जस्ता विषयलाई बाह्य कारण भनेको एमालेले समयमा उम्मेदवार चयन गर्न नसक्नु, आकांक्षीहरुको सही व्यवस्थापन नहुनु, निर्वाचन परिचालनमा कुशलता देखाउन नसक्नु जस्ता विषयलाई आन्तरिक कारण मानेको छ । केही ठाउँमा घात अन्तर्घात भएको भन्दै एमालेले प्रमाणित भएकाहरुलाई सम्बन्धित कमिटीले कारबाही गर्ने बताएको छ ।