गठबन्धनको एक मत बदर हुँदा जिसस नवलपरासीको प्रमुखमा एमाले विजयी

गठबन्धनको एक मत बदर हुँदा जिसस नवलपरासीको प्रमुखमा एमाले विजयी


ग्लोब नेपाल
8.3k
Shares

नवलपरासी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर बनेको गठबन्धको एक मत बदर हुँदा जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको प्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । एमालेले राप्रपासँग गठबन्धन गरेको थियो ।

गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगे पनि एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका हुन् । एक मत बदर भएको छ । उपप्रमुखमा भने, माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मंगलवार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका रामदयाल चौधरी विजयी भएका हुन् । प्रमुख पदका विजयी उमेदवार यादवले ७ मत ल्याए भने नेपाली कांग्रेसका बालिन्द विक्रम शाहीले ६ मत ल्याएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्तीकुमारी चौधरीले ६ मत ल्याइन् ।

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदीदेवी हरिजन विजयी भएकी छन् । महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन् । कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन् ।

९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी भएका छन् । चौधरी माओवादी केन्द्रका हुन् ।

त्यस्तै राप्रपाका मकबुल मिया र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यमा विजयी भएका छन् ।