परराष्ट्रमन्त्री खड्काले भने: प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेरौँ

परराष्ट्रमन्त्री खड्काले भने: प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेरौँ


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् । असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। हालसालै सार्वजनिक भएको सम्झौताको उक्त मस्यौदामा अमेरिकी सेनालाई नेपालमा सहज उपस्थिति दिनेछ।

सम्झौता मात्रै नभइ प्रधानमन्त्रीको भ्रमणसमेत रोक्नुपर्ने आवाज उठेका बेला मन्त्री खड्काले बचाउ गरेका हुन्। ‘भेटघाटलाई शंकाले नहेर्न आग्रह गर्दछु। यस्ता भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेलेको छ। विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ’, उनले अगाडि भने, ‘नेपालको स्वाधिनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन्। सार्वभौमसत्ता, स्वाधिनताप्रति सरकार गम्भीर रहेको छ।’

उनले सरकारले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढिरहेको दाबी गरे । सरकारले सही तरिकाले परराष्ट्र नीति अवलम्बन गर्दा देशको प्रतिष्ठा र विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा बढेको उनले बताए । खड्काले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ, यो सरकारले लिएको नीतिका कारण हो। नेपालसँग १७६ देशसँग दैत्य सम्बन्ध कायम भएको छ।’

खड्काले नेपालको परराष्ट्र सम्बन्ध ठीकठाक रहेको उल्लेख गरेका हुन्। उनले संसदमा भने, ‘सरकारले अन्तर्राष्ट्रिय सम्बन्धनलाई थप सुदृढ बनाउने काम गरेको छ। पञ्चशीलको सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर सरकारले काम गरिरहेको छ।’