‘गठबन्धनभित्र उपगठबन्धन गर्ने, चुनावमा इमान्दारिपूर्वक भोट नहाल्ने’

‘गठबन्धनभित्र उपगठबन्धन गर्ने, चुनावमा इमान्दारिपूर्वक भोट नहाल्ने’


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनका दौरानमा सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेका छन् ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत गर्दै उनले ७ प्रकारको समस्या देखिएको औंल्याएका हुन् । आजदेखि सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ ।

नेपालका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो ।उनले गठबन्धनलाई आफ्नो हितमा प्रयोग गर्न चाहने प्रवृत्ति देखिएको र यो प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रम बढी देखिएको पनि उल्लेख गरेका छन् ।

त्यस्तै नेकपा समाजवादीले करिव २५ प्रतिशत स्थानमा मात्रै उम्मेदवारी दिँदा त्यति मत प्राप्त भएकाले गठबन्धन नभएका सबै स्थानमा उम्मेदवारी दिएको भए शायद यसको दोब्बरभन्दा बढी मत प्राप्त हुने आँकलन समेत गरेका छन् ।अध्यक्ष नेपालले निर्वाचनका सन्दर्भमा देखिएका समस्याका बारेमा पनि आफ्नो प्रतिवेदनमा खुलाएका छन् । निर्वाचनका सन्दर्भमा तीनथरी समस्या देखापरेको भन्दै उनले पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या औल्याएका छन् । त्यस्तै उनले गठबन्धनभित्र सात समस्या रहेको प्रतिवेदनमा औल्याएका छन् ।

नेपालको प्रतिवेदनमा भनिएको छ, ‘पहिलो, गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने । दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने । तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाड मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौथो, चुनावलाई जनतामाझ राजनीति पुयाउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने । पाचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैठौं, आफुले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिड्ने । सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने ।’