एसपीपी सम्झौतामा पछि हटे देउवा, भने: मुलुकको हितविपरीत सम्झौता गर्दिनँ

एसपीपी सम्झौतामा पछि हटे देउवा, भने: मुलुकको हितविपरीत सम्झौता गर्दिनँ


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नहुने बताएका छन् ।

७र८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा थिए । तर सत्ता सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् ।

निर्वाचनको मुखमा ‘राष्ट्रवाद’ को मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएपछि प्रधानमन्त्रीले तत्काल सम्झौता नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ । ’

प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

यस्तै नेपाली कांग्रेसभित्रै पनि अहिले एसपीपीबारे थप छलफल अघि नबढाउने सहमति बनेको छ । निर्वाचनको मुखमा ‘राष्ट्रवाद’ को मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएको भन्दै स्रोतले भन्यो, ‘यहि कारण चुनावका बेला वामपन्थीहरु एक नहोउन् भन्नेमा प्रधानमन्त्रीज्यू पनि सचेत हुनुहुन्छ ।’

यसअघि सोमबार नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेसनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) का लागि अमेरिकाले तयार पारेको १० बुँदाको प्रस्ताव सार्वजनिक भएको थियो ।