स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दैन: स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दैन: स्वास्थ्यमन्त्री


ग्लोब नेपाल
108
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर निजी कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने बताए । उनले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने पनि बताए ।

अर्थमन्त्री स्वयंमले कुनै कम्पनीलाई नदिने भनिसके पनि उनले बताए । ‘स्वास्थ्य बिमाबारे अर्थमन्त्रीले निजीलाई दिने नियत होइन भन्नुभएको थियो । बजेट आएपछि अर्थमन्त्रीसँग बुझ्न पाएको छैन’, उनले भने, ‘स्वास्थ्य बिमा ऐनविपरीत जाने गरी म त्यो काम गर्दिनँ र यो स्वास्थ्य बिमा नित्तान्त व्यापारिक नाफाको प्रयोजनका लागि नभएको हुनाले स्वास्थ्य मन्त्रालय त्यसमा जाँदैन ।’

मंसिर महिनासम्म आफू संसद्‌मा नै रहने भएकाले सांसदहरूलाई स्वास्थ्य बिमा निजीलाई दिन्छ कि भन्नेमा शंका नराख्न मन्त्री खतिवडाले आग्रह गरे ।

स्वास्थ्य बिमा निजीलाई नदिने भनेर सरकारले जवाफ दिइसकेपछि पनि सांसदहरूले त्यसै विषयबारे प्रश्न गरेकोमा उनले असन्तुष्टि जनाएका थिए ।