काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफूले सम्हालेको मन्त्रालयका तर्फबाट जवाफ दिन पनि प्रतिनिधि सभामा उपस्थित भएनन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा देउवाले जवाफ दिने कार्यसूची रहेको थियो । तर, प्रधानमन्त्री देउवा अनुपस्थित भए । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिन तोकेका संसद् सचिवालयलाई पत्र पठाएका थिए ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गर्दै प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति जनाएका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण गृहमन्त्रीलाई तोकेर पत्र प्राप्त भएको जानकारी दिए ।
प्रधानमन्त्रीले विवादित एसपीपी सम्बन्धमा पनि जवाफ दिनुपर्ने माग संसदमा उठेको छ ।
संसद बैठकमा जान कार्यव्यस्तताको कारण देखाएका प्रधानमन्त्री देउवाले आजै नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटनको कार्यक्रममा भाग लिएका थिए ।
प्रतिक्रिया