ओली प्रधानमन्त्री हुँदा एसपीपीमा संलग्न हुन नेपाली सेनाले पठाएको पत्र सार्वजनिक

ओली प्रधानमन्त्री हुँदा एसपीपीमा संलग्न हुन नेपाली सेनाले पठाएको पत्र सार्वजनिक


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएको छ ।

तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पत्राचार गर्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री थिए । संविधान निर्माणलगत्तै ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री भएको २ हप्तामै सेनाले पत्राचार गरेको देखिन्छ ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालिन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको उल्लेख गरिएको छ ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ । नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रसँगै एसपीपी प्रकरणमा नयाँ अध्याय सुरू भएको छ ।

यो पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताए ।

बुधबार मात्रै नेपालस्थित अमेरिकी दूतावासले पनि पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो ।