एसपीपीसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

एसपीपीसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि एसपीपीसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको पनि जानकारी दिइन् ।

अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वासिङटन डीसी जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको सभापति निरौलाले बताइन् । उनले प्रधानमन्त्रीको भ्रमणको तालिका र भ्रमणमा गरिने एजेन्डाहरूबारे जानकारी गराउन परराष्ट्रमन्त्री खड्कासँग मागसमेत गरेकी थिइन् ।

जवाफमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रारम्भिक चरणमा रहेको र मिति र एजेन्डाबारे छलफल हुन बाँकी रहेको स्पष्ट पारेका थिए ।