काँग्रेस महामन्त्री शर्माको दावी: एसपीपी ओली सरकारकै पालामा अघि बढेको हाे

काँग्रेस महामन्त्री शर्माको दावी: एसपीपी ओली सरकारकै पालामा अघि बढेको हाे


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन् ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले भने, उनले भने, ‘संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ-हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, कांग्रेस गम्भीर भएन भनेर भनिदिनुहुन्छ। २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नुभयो, उहाँहरुकै पालामा त्यसरी लेखिएको रहेछ। त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन। यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन।’

उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए।

उनले कूटनीतिक मर्यादा विपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटकसामेल भएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। एसपीपीमा आवद्ध हुनका लागि लेखिएको पत्रले हामी कूटनीतिक अभ्यासबारे गम्भीर छैनौँ भन्ने देखाएको शर्माको टिप्पणी छ।