अवैध रुपमा आएको मल धादिङका किसानले कब्जा गरे

अवैध रुपमा आएको मल धादिङका किसानले कब्जा गरे


ग्लोब नेपाल
54
Shares

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेका दुई वटा ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको जानकारी दिए । मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।