कांग्रेस प्रवक्ता महतले भने: प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको हितमा छ

कांग्रेस प्रवक्ता महतले भने: प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको हितमा छ


ग्लोब नेपाल
81
Shares

रौतहट । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नेपालको हितमा रहेको बताएका छन् ।

रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै महतले अमेरिकी राष्ट्रपतिबाटै नेपालका प्रधानमन्त्रीलाई विरलै आमन्त्रण हुने गरेको र प्रधानमन्त्री देउवा अमेरिकी राष्ट्रपतिकै आमन्त्रणमा जान लागेकाले त्यो नेपालको लागि हितकर हुने बताए ।

उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई लिएर किन जान लागेको भनेर आशंका गर्नु गलत सोचको परिणाम भएको टिप्पणी गरे । ‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले आमन्त्रण गर्नुभएको छ । हाम्रो कुनै पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको तहबाट आमन्त्रण भएको छैन । अहिले शेरबहादुर देउवालाई त्यस्तो निमन्त्रणा छ । पहिले पनि उहाँलाई नै त्यस्तो आमन्त्रण गरिएको थियो । यो त खुसीको कुरा हुनुपर्ने हो,’ प्रवक्ता महतले भने, ‘अमेरिकाजस्तो देशले उच्च सम्मान दिइरहेको छ । उहाँले त्यहाँ गएर नेपालकै लागि कसरी बढीभन्दा बढी सहयोग ल्याउने भनेर पहल गर्ने हो । कसरी विकासका योजना ल्याउने भन्ने कुरा हो । त्यसमा पनि किन जान लाग्नुभएको हो रु जानु हुँदैन भनेर प्रश्न गर्नु गलत हो ।’

महतले कांग्रेसले सबै छिमेकी र मित्रराष्ट्रहरूलाई समान ढंगको व्यवहार गर्ने गरेको बताए । उनले नेपालमा एमसीसी विकासे परियोजना भए पनि पहिले एमसीसीको नाममा बबन्डर मच्याउने काम भएको बताए ।