कांग्रेस प्रवक्ताको आरोप: एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो

कांग्रेस प्रवक्ताको आरोप: एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो


ग्लोब नेपाल
54
Shares

वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आइतवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको पनि आरोप लगाए । उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे । ‘यो केही ठूलो कुरा थिएन, जबकि ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, उनले भने, ‘तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’

नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ ।

स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’