नेपालको कुरिलो विदेश निर्यात

नेपालको कुरिलो विदेश निर्यात


ग्लोब नेपाल
189
Shares

चितवन । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए । उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।”

एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिएका छन् । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उनले बताए । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ ।

भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए । उनले भने, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे ।

अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमा नै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”