काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले सोमबार एसपीपीको विषय अब सधैका लागि ‘क्लोज’ गर्न आग्रह गरेका हुन्। उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न पनि सुझाव दिएका छन् ।
महामन्त्री शर्माले पार्टीका तर्फबाट प्रधानमन्त्री देउवासँग एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरिएको जानकारी दिए। उनले भने, ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नितिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाइ बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौं भनेका छौं ।’
महामन्त्रीद्वय थापा र शर्माले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न, पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिमा गम्भीर भएर जनतालाई राहत दिन, पूर्व-पश्चिम रेल परियोजनाबाट प्रभावित मोरङका स्थानीयको माग सम्बोधन गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।
प्रतिक्रिया