मनोज पाण्डेलाई थुनामा राख्न अदालतको आदेश

मनोज पाण्डेलाई थुनामा राख्न अदालतको आदेश


ग्लोब नेपाल
108
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सौन्दर्य प्रतियोगताको आडमा यौन शोषण (बलात्कार) गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । यस्तै नाबालिगमाथि यौन दुव्र्यवहार मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको छ ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि एक किशोरीले सौन्दर्य प्रतियोगिताका क्रममा पटक–पटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । प्रहरीले बलात्कार अभियोगमा हदम्यादका कारण उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

आठ वर्षअघि भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् ।